लहान — उज्यालो फाउण्डेशनद्वारा सञ्चालित शि-लीड्स नेतृत्व संस्थान (SheLeads Leadership Institute) अन्तर्गत पहिलो समूह (Cohort 01) को पाँच दिने नेतृत्व तालिम लहानमा सम्पन्न भएको छ।
उर्सुला जिन्डेल हिल्टी फाउण्डेशनको सहकार्यमा सञ्चालित उक्त तालिम असोज २६ देखि ३१ (अक्टोबर १२–१७) सम्म सिरहाको लहान नगरपालिका स्थित होटल प्यासिफिकमा सञ्चालन गरिएको हो। तालिममा लहान नगरपालिका वडा नं १२ र वडा नं १५ का २० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य समुदायस्तरमा महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई कानुनी अधिकार, सामाजिक न्याय, र स्थानीय शासन प्रति सचेत बनाउनु रहेको फाउण्डेशनले जनाएको छ। तालिमको पहिलो दिन सहभागीहरूलाई संस्थाको उद्देश्य, मूल्य र कार्यविधि बुझाइयो। वडा नं. १२ का अध्यक्ष बद्रीनारायण चौधरी र वडा नं. १५ का अध्यक्ष तेज नारायण चौधरीको उपस्थिति सहभागीहरूका लागि थप प्रेरणादायी बनेको थियो।
तालिमका अन्य दिनहरूमा सहभागीहरूले निम्न विषयमा प्रशिक्षण लिए:
सामाजिक पहिचान र नेतृत्व क्षमता विकास
महिलाको नेतृत्वमा सामाजिक, जातीय, भाषिक र भौगोलिक पहिचानले पार्ने प्रभावमाथि छलफल गरियो।
हानिकारक परम्परागत अभ्यासहरूको पहिचान
स्थानीय स्तरमा प्रचलित हानिकारक परम्परा र संस्कृति विरुद्ध सचेतना फैलाउने उपायबारे सहभागीहरूलाई प्रशिक्षण दिइयो।
सञ्चार सीप, टोली कार्य र परियोजना योजना
सहभागीहरूले सामुदायिक मुद्दा पहिचान गरी समाधानका लागि परियोजना डिजाइनको अभ्यास गरे।
कानुनी सशक्तीकरण र सहकार्य निर्माण
महिलासम्बन्धी कानुनी अधिकार र सुरक्षाका प्रावधानबारे जानकारी दिइयो।
स्थानीय सरकार अध्ययन भ्रमण
अन्तिम दिन सहभागीहरूले वडा नं. १२ र समग्रह जना उठान केन्द्र भ्रमण गर्दै स्थानीय सरकारको भूमिका र उत्तर दायित्व बारे व्यावहारिक जानकारी लिए।
आगामी कार्यक्रमहरू
शि-लीड्स परियोजना आगामी दिनमा मधेश प्रदेशका अन्य दुई नगरपालिका — कर्जनहा र गणेशमान चारनाथमा पनि सञ्चालन गरिनेछ। उज्यालो फाउण्डेशनले महिलाहरूको सामुदायिक नेतृत्वलाई सुदृढ गर्दै दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने लक्ष्य राखेको जनाएको छ।
फाउण्डेशनका अनुसार, “सहभागीहरूले प्राप्त सीप, ज्ञान र आत्मविश्वासलाई समुदायमा विस्तार गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वास गरिएको छ।















