लहान, सिराहा : लहान नगरपालिका–८, रोड नं २ मा अवस्थित बिशाल इन्स्टिच्युटले एसईई परीक्षा पश्चात अध्ययनरत ब्रिज कोर्सका विद्यार्थीहरूलाई लक्षित गर्दै एक भव्य बिदाइ कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा अर्चिड कलेज, विराटनगरका प्रमुख सहभागी थिए भने विशिष्ट अतिथिको रूपमा शिक्षाशास्त्रका जानकार शिक्षक मनोज कर्णको उपस्थिति रहेको थियो। संस्थाका सञ्चालक विशाल साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
बिशाल इन्स्टिच्युटले लोकसेवा तयारी कक्षा, शिक्षक सेवा आयोग तयारी, मेडिकल काउन्सिल तयारी कक्षा, ब्रिज कोर्स, कम्प्युटर तालिम लगायतका विभिन्न शैक्षिक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ।

बिदाइ समारोहमा ब्रिज कोर्समा सहभागी करिब १५० विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना मन्तव्य र विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सजीव बनेको थियो।
कार्यक्रममार्फत विद्यार्थीहरूमा नयाँ ऊर्जा, प्रेरणा र आगामी शैक्षिक यात्रा प्रतिको आत्मविश्वास थपिएको आयोजक संस्थाको विश्वास छ।















