सिरहा, कञ्चनपुर–कमला (केके) सडक आयोजना अन्तर्गत ग्रामीण महिलाको आर्थिक सशक्तीकरण उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ। असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको तालिममा यस अघि व्यवस्थापकीय, उद्यमशीलता तथा प्राविधिक सीपसम्बन्धी तालिम लिएका महिला समूह तथा कृषि सहकारीका प्रतिनिधिहरू को क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।
केके सडक आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) कार्ययोजना अन्तर्गत सञ्चालन गरिएको तालिमले महिलाहरूलाई सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै आफ्ना उद्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अघि आयोजनाले सिरहा र सप्तरीका १२ पालिकाका १२ महिला समूह तथा कृषि सहकारीका ७२ जना प्रतिनिधि लाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेको थियो। सो क्रममा तीन दिने (१८ घण्टा) व्यवस्थापकीय तथा उद्यमशीलता तालिमका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT), लहान मार्फत २१ दिने (१०८ घण्टा) च्याउ खेती तथा फलफूल प्रशोधन सम्बन्धी प्राविधिक तालिम सञ्चालन गरिएको थियो।
तालिम प्राप्त महिला समूहलाई उद्यम सञ्चालनमा प्रोत्साहन गर्न GESI कार्ययोजना अनुसार प्रति समुह लाई १ हजार अमेरिकी डलर अर्थात् सम्झौता विनिमय दरअनुसार १ लाख ३२ हजार १६० रुपैयाँ कार्यसम्पादनमा आधारित बिउ पुँजी समेत उपलब्ध गराइएको थियो। अनुगमन तथा उपयोग प्रतिवेदन स्वीकृत भएपछि उक्त रकम तीन किस्तामा पूर्ण रूपमा निकासा गरिएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार बिउ पुँजीको उपयोग गर्दै अधिकांश महिला समूहले च्याउ खेती, फलफूल प्रशोधन तथा अन्य साना उद्यम सञ्चालन गरिरहेका छन्। यस्ता उद्यमले महिलाको आयआर्जन वृद्धि, स्थानीय स्तरमा रोजगारी सिर्जना, बचत गर्ने बानीको विकास तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याएको छ।
केके सडक आयोजनाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहका अनुसार यसअघि प्रदान गरिएका तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई थप प्रभावकारी बनाउन र महिलाहरूलाई आफ्ना उद्यम सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले पुनर्ताजगी तालिम आयोजना गरिएको हो।
उहाँका अनुसार पुनर्ताजगी तालिमले महिलाहरूलाई व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती समाधान गर्न, व्यवस्थापकीय तथा प्राविधिक क्षमता सुधार गर्न र आफ्ना उद्यमलाई थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग पुग्नेछ।
केके सडक आयोजनाले सडक निर्माणलाई भौतिक पूर्वाधार विकासमा मात्र सीमित नराखी महिला सशक्तीकरण, सीप विकास, स्वरोजगार तथा स्थानीय आर्थिक रूपान्तरणसँग जोड्दै आएको छ। आयोजना अन्तर्गत सञ्चालन भइरहेका यस्ता कार्यक्रमले ग्रामीण महिलालाई उद्यमशील बनाउँदै आर्थिक आत्मनिर्भरता र समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।













