लहान नगरपालिका वडा नं. १ मटियर्वामा एक दर्दनाक घटना सार्वजनिक भएको छ। एकै परिवारका आमा र ५ वर्षका छोराको शव फेला परेको छ भने चार महिनाको शिशु जीवित अवस्थामा उद्धार गरिएको छ।
लहान नगरपालिका–१२ की २३ वर्षीया रन्जिता चौधरी विगत केही समयदेखि मटियर्वास्थित कोठामा भाडामा बस्दै आएकी थिइन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा दिएको जानकारी अनुसार रन्जिता चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् भने उनका ५ वर्षीय छोरा एरोन चौधरी हत्या गरिएको अवस्थामा कोठामै भेटिएका छन्।
छिमेकीहरूले कोठाबाट दुर्गन्ध आएको महसुस गरेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुग्दा रन्जिता झुन्डिएको अवस्थामा थिइन् भने एरोन मृत भेटिएका थिए। प्रारम्भिक अनुमान अनुसार मृत्यु भएको ३ देखि ४ दिन भइसकेको देखिन्छ।
घटनास्थलमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतक रन्जिताको चार महिनाको अर्काे बच्चा भने सोही कोठामा जीवित अवस्थामा फेला परेको छ। बच्चाको अवस्था गम्भीर रहे पनि हाल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
घटनाको कारण अझै स्पष्ट नभए पनि प्रहरी आत्महत्या र बालकको हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको छ। घटनाले स्थानीयवासीलाई निकै मर्माहत बनाएको छ।
प्रहरी स्रोतका अनुसार घटनाको विस्तृत विवरण र पोस्टमार्टम रिपोर्टपछि थप तथ्य सार्वजनिक गरिनेछ।