सुखिपुर, सिरहा – सुखिपुर नगरपालिकामा करार सेवामा कार्यरत मनिष यादवले नगर प्रमुख रामऔतार यादवको संरक्षणमा रहेर जनतालाई खुलेआम धाकधम्की दिएको भिडियो सार्वजनिक भएपछि स्थानीय बासीहरू आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा यादवले नगर प्रमुखबारे प्रश्न गर्ने नागरिकहरूमाथि गाली–गलौज गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको देखिन्छ।
जनताको करबाट तलब खाएर जनतालाई नै दुर्व्यवहार गर्ने मनिष यादवको यस्तो व्यवहारप्रति नगरवासीहरू आक्रोशित छन्। उनी लामो समयदेखि नगर प्रमुख रामऔतार यादवको नजिकको मान्छे मानिन्छन्। स्थानीयबासीहरूका अनुसार, “उनी नगर प्रमुखको राजनीतिक ढाल र व्यक्तिगत गुन्डा बनेर नगरपालिका भित्र घुसाइएका हुन्।”
केही दिन अघि सुखिपुरमा आयोजित नेकपा एमालेको एक कार्यक्रममा उनको सहभागिता र झोले शैलीमा देखिएको व्यवहारले कर्मचारी आचारसंहिताको धज्जी उडाएको छ। एक त कर्मचारी, त्यो पनि करारमा, अर्को त राजनीतिक झोले – यस्तो असंवेदनशीलता र गैरजिम्मेवार व्यवहारले सुखिपुरको प्रशासनिक इमेजमाथि प्रश्न चिन्ह उठाएको छ।
मनिष यादवका सामाजिक सञ्जालहरू हेर्दा पनि उनको अनुसासनहीनता, दम्भपूर्ण शैली र अपमानजनक अभिव्यक्तिहरू प्रष्ट देखिन्छ। कुनै पनि आलोचना सहन नसक्ने, प्रतिक्रिया दिने नाममा नागरिकमाथि धाक–धम्की र गाली–गलौज गर्ने उनको प्रवृत्ति दिन प्रतिदिन खतरनाक बन्दै गएको स्थानीयको भनाइ छ।
मनिष यादव सुखिपुर नगरपालिका वडा नम्बर १, महनपुर निवासी हुन्। नगर प्रमुखको विरुद्ध बोल्ने जोकोहीलाई सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा लक्षित गरेर धम्की दिने उनको प्रवृत्तिले अब स्थानीयवासीहरू प्रत्यक्ष प्रतिवादमा उत्रिएका छन्। उनीमाथि तत्काल कारबाही गर्न माग गर्दै केही दिनभित्र नगरपालिकामा ज्ञापनपत्र बुझाइने तयारी भइरहेको स्रोतले जनाएको छ।
स्थानीय सामाजिक अभियन्ता र युवाहरूले भनेका छन्, “जनताको सेवामा खटिनु पर्ने कर्मचारीले जनतालाई नै दुश्मन ठानेर व्यवहार गर्ने हो भने यस्तो कर्मचारीको स्थान नगरपालिकामा होइन, अदालतको कठघरामा हुनुपर्छ।”
नगर प्रमुख रामऔतार यादव भने यस विषयमा मौन छन्। त्यो मौनता स्वयंमा गम्भीर प्रश्नको विषय बनेको छ – के नगरपालिकाले वास्तवमै जनताको पक्षमा काम गरिरहेको छ, कि केही चाकरीबाज कर्मचारीको संरक्षण केन्द्र बनेको हो?
सुखिपुरका नागरिकहरू अब यस्तो गैरजिम्मेवार कर्मचारीलाई करारबाट हटाउनुपर्ने मागमा एकजुट हुँदै गएका छन्। “अशिष्ट र धम्की दिने कर्मचारीलाई सेवा गर्नुको सट्टा सजाय दिनुपर्छ”, उनीहरूको स्पष्ट भनाइ छ।