कल्याणपुर, सप्तरी । खडक नगरपालिकाले नगर साक्षर घोषणा गरेको छ । खडक नगर युवा सञ्जालको समन्वय तथा शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा कल्याणपुरमा आयोजित भव्य कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यमा औपचारिक रूपमा खडक नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको हो ।
कार्यक्रममा खडक नगरपालिकाका प्रशासन प्रमुख रमाकान्त चौधरीले नगर साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै २०७३ सालमा स्थापना भएको नगरपालिकाले दीर्घकालीन रूपमा सुन्दर र समृद्ध नगर निर्माणको उद्देश्यसहित साक्षरता अभियान सञ्चालन गर्दै आएको जानकारी गराए । उनका अनुसार २०८१ सालमा खडक नगर युवा सञ्जालको समन्वयमा र शिक्षा शाखाको सहयोगमा मोबाइल एप्लिकेशनमार्फत गरिएको घरधुरी सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका ५४१५ जना निरक्षर रहेका थिए ।
त्यसपछि २०८१/८२ आर्थिक वर्षदेखि नगरपालिकाभित्र ८२ स्थानमा साक्षरता कक्षा सञ्चालन गरिँदै ५३६५ नागरिकलाई साक्षर बनाइएको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकामा हाल ५२,७७८ जनसंख्या र ११,०६९ घरधुरी रहेको छ । नगरवासीको जीविकोपार्जन मुख्यतः कृषि, व्यापार, वैदेशिक रोजगारी र ज्यालामजदुरीबाट हुने गरेको उल्लेख गरिएको छ । नगरभित्र ३५ सामुदायिक विद्यालय र ६ सामुदायिक धार्मिक मदरसा गरी जम्मा ४१ सामुदायिक शिक्षालय रहेका छन् । सडक पहुँचमा समेत सुधार गर्दै हिलोरहित र व्यवस्थित बाटोहरू निर्माण गरिएको तथा सडक स्तरोन्नति जारी रहेको जनाइएको छ ।
कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख रिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु, खडक नगर युवा सञ्जाल अध्यक्ष रकिराज प्रभात चौधरी, जिल्ला युवा सञ्जाल सप्तरी इन्चार्ज बरदान श्रेष्ठ, पूर्व मधेश प्रदेश युवा संस्थापक अध्यक्ष अमर यादव, कार्यपालिका सदस्यहरू, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, विद्यालयका प्रमुख, शिक्षक, युवा क्लबका प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।















